काठमाडौँ। आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारीबारेमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार (१८ असोज) मा केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा प्रवक्ता सुभाष साहले जानकारी दिए।
पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न भनिएको बैठकले आगामी आन्दोलनको तयारी बारेमा समेत महत्वपूर्ण निर्णय गर्ने उनले बताए।
बैठकमा सरकारको कामकारवाहीको समिक्षा, अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन सहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहको भनाइ छ।
`बैठकमा विदेशी एजेण्टहरुबाट देश बचाउन, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउन, फेक शासनको अन्त्य गर्न एवं जनविरोधी कार्यबारेमा समेत बैठकमा छलफल हुनेछ।´ प्रवक्ता साहले भने।
यस्तै बैठकमा मुल्यबृद्धि, कालोबजारी, कर आतंक, मलखाद्यको अभाव, बाढीपीडितको पूनर्स्थापना तथा पूननिर्माण सहितका बिषयमा छलफल एवं निर्णय हुने बताइएको छ।



