काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेपछि डा. शर्माको अबको राजनीतिक बाटो के हुने भन्ने चासो बढेको छ। कांग्रेस बृत्तमा अब उनी महामन्त्रीको दौडमा अघि बढ्ने चर्चा छ। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा उनी सक्रिय रहँदै आएका कारण पनि शर्मा पछिल्लो समय पार्टीभित्र चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका थिए। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि थप अघि बढेको छ।
नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।



