काठमाडौँ। ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज भएको सम्झौतामा कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल सहभागी थिए।
डंगोल र अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषदका तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि धारणा राख्दै कार्यवाहक प्रमुख डंगोलले, अस्पतालमा पहिलो पटक जाँच गर्ने ज्येष्ठ नागरिक कार्यक्रमको मूल्याङ्कन सूचक रहेको बताइन।
‘अस्पताल आउने गर्नु भएका ज्येष्ठ नागरिकको सेवालाई अझ सहज र सरल बनाउँदै लैजानु पर्छ।’ उनले भनिन्, ‘रोग सहेर घरमै बसिरहने ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनु चाहिँ कार्यक्रम प्रभावकारिताको मूल्याङ्कन सूचक हो।
सेवाग्राहीको उमेर, लिङ्ग, शारीरिक अवस्था, प्रदान गरिएका सेवा लगायत सबै विवरण राखेर मासिक प्रतिवेदन पेश गर्न पनि उनले निर्देशन दिइन्।
ज्येष्ठ नागरिक दिवसको सन्दर्भ र महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराउँदै उनले आरोग्य रहने वातावरण बनाउन, सक्रिय जीवनका लागि सहयोग प्रदान गर्न, स्वास्थ्योपचारका लागि जानु पर्ने भए सरल र सहज पहुँच निर्माण गर्न महानगरपालिकाले काम गर्दै आएको बताइन्।
`घरघरमै स्वास्थ्य सेवा दिने क्रममा २ हजार ७५ ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य जाँच गरेका छौँ, छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत १४ हजार ५४३ पटक, डल्लु सामुदायिक स्वास्थ्य परिषदमार्फत १ हजार २१५ जनालाई निःशुल्क स्वास्थ्य जाँच गराएका छौँ, ३ हजार ३ सय जना ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप सेवा प्रदान गरेका छौँ, वडाहरुबाट १० हजार बढी ज्येष्ठ नागरिकलाई तीर्थाटन गराएका छौँ।’ उनले भनिन्।
पहुँचयुक्त पूर्वाधारको कुरा गर्दै उनले, १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालनमा रहेको, १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक प्रति व्यक्ति १२ हजार रुपियाँ पोषण भत्ता प्रदान गरिएको, ५ हजार ३९७ जना ज्येष्ठ नागरिकलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको पनि जानकारी दिइन्।
‘सिल्भर भोलेन्टियर’ सहयोगापेक्षी सडक मानव उद्धार, सम्पदा क्षेत्रमा ज्येष्ठ नागरिकको पहुँच बढाउन व्हील चेयरका व्यवस्था महानगरपालिकाले सञ्चालन गरेका ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम हुन्।
‘विकासका आयामहरुमध्ये सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।’ कार्यपालिका सदस्य महेश नेपालीले भने, ‘ज्येष्ठ नागरिक आफैँमा पनि संवेदनशील अवस्थामा हुने भएकाले सेवा प्रदान गर्ने पूर्वाधार र सेवामा स्तरीयता कायम गराउने काममा ध्यान दिनुपर्छ।’
चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले भित्री सहरी क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिक उपचारका लागि स्वास्थ्य संस्थामा जाने नरुचाउने बताए। उनीहरुलाई नियमित जाँचका लागि प्रोत्साहित गर्ने गरिएको उनको भनाइ थियो।
‘स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न हाम्रो क्षमता प्रयोगमा हामी सकारात्मक छौँ।’ त्यस क्रममा परिषदका उपाध्यक्ष श्रेष्ठले भने, ‘यसअघि प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनु पर्ने जाँचमध्येका ७० प्रतिशत आन्तरिक प्रयोगशालाबाटै परीक्षण गर्न सक्ने भएका छौँ, हामीलाई महानगरपालिकाले यो क्षमता विकास गराइदिएको हो, हामी महानगरपालिकाले अपेक्षा गरेको सरल स्वास्थ्योपचारका लागि प्रतिवद्ध भएर काम गर्नेछौँ ।’
महानगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ज्येष्ठ नागरिक सम्झौता बमोजिमका लाभग्राही हुन्।
सामाजिक विकास विभागका प्रमुख निरौलाका अनुसार महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले पनि यो सेवा प्राप्त गर्नेेेछन। सम्झौताका हस्ताक्षरकर्ता अस्पतालले सडकबाट उद्धार गरेर मानव सेवा आश्रममा राखिएका आश्रित व्यक्तिहरुको साप्ताहिक रुपमा नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। अस्पताल भर्ना गर्नु परेमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनु पर्नेछ।
सामाजिक विकास विभागले शिफारिस गरेका लैङ्गिक हिंसामा परेका व्यक्ति वा वेवारिसे व्यक्ति काठमाडौँ महानगरपालिका बाहिरका व्यक्तिका लागि पनि यो सेवा उपलब्ध हुने सामाजिक विकास महाशाखा प्रमुख जानकारी सिंहले जानकारी दिए।



