सल्यान। सल्यान जिल्लाका सात वटा स्थानीय तहमा ‘स्क्रब टाइफस’ बाट ४५८ जना सङ्क्रमित भएका छन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थामा दुई हजार ३२२ जनामा स्क्रब टाइफस परीक्षण गर्दा ४५८ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालका अनुसार सल्यानका विभिन्न पालिका र जिल्ला अस्पतालसहित सरकारी स्वास्थ्य संस्थामा एक हजार ९८४ जनाले परीक्षण गराएका थिए। जसमध्ये ३७० जना अर्थात् १८.६५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।
यसैगरी बागचौरस्थित निजी स्वास्थ्य संस्थामा जाँच गराएका ३३८ जनामध्ये ८८ जना अर्थात् २६.०४ प्रतिशतमा स्क्रब टाइफस पोजेटिभ देखिएको रिजालले जानकारी दिए।
सङ्क्रमणबाट हालसम्म दार्मा गाउँपालिकामा मात्रै आठ जनाको मृत्यु भइसकेको छ। दार्मामा ५३२ जनाको सरकारी परीक्षणमा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ। ज्यान गुमाउनेमा एक महिला र सात जना पुरुष रहेको जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिएका हुन्।
जिल्लाभ्र सङ्क्रमित हुनेहरूमा पुरुषको तुलनामा महिला बढी छन्। कुल सङ्क्रमित ४५८ जना मध्ये ७८.६० प्रतिशत अर्थात् ३६० जना महिला र २१.४० प्रतिशत अर्थात् ९८ जना पुरुष रहेका छन्।
स्क्रब टाइफस कीटजन्य सरुवा रोग हो। खेतबारी, घाँस, दाउरा र पशुपालनको काममा महिलाको प्रत्यक्ष संलग्नता बढी हुने भएकाले उनीहरूमा माइट (सूक्ष्म किरा) को टोकाइको जोखिम अत्यधिक देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।
दार्मा बाहेक अन्य पालिकाको स्थिति पनि निकै चिन्ताजनक रहेको छ। कपुरकोट गाउँपालिकामा परीक्षण गरिएका १५६ जनामध्ये ५२ जना, कुमाख गाउँपालिकामा १८१ जनामध्ये ५४ जना र बागचौर नगरपालिकामा ६२९ जनामा गरिएको परीक्षणमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा परीक्षण गरिएका २७ जनामध्ये छ जना, कालीमाटी गाउँपालिकामा परीक्षण गरिएका २१ जनामध्ये दुई जना र बनगाड कुपिण्डे नगरपालिकामा परीक्षण गरिएका सात जनामै सङ्क्रमण देखिएको छ।
जिल्ला अस्पतालमा जाँच गरिएका ७६९ जनामध्ये ४४ जनामा पोजेटिभ रिपोर्ट आएको छ। सङ्क्रमणको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक समन्वय गरेर प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह नै परिचालन गरेको थियो।



