काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छन ।
ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी हुन।
सो बैठकमा मन्त्री डा राणाले लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन।
`कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।´ बैठकलाई सम्बोधन गर्ने क्रममा निर्देशन दिंदै राणाले भनिन।
मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरुलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न पनि निर्देशन दिएकी छन।
इजिप्टका लागि नेपाली राजदूत सुशिल लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको जानकारी दिए।
लेबनानमा हाल करिब एक हजार २०० नेपाली रहेको अनुमान गरिएको र ती मध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको लम्सालले जानकारी गराएका छन।
सम्पर्कमा आएकाहरु पनि बेरुतमा सुरक्षित रहेको भन्दै लम्सालले हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगरेको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित देखिएको अवस्था रहेको बैठकमा जानकारी गराएका हुन।
त्यसैगरी इजरायलका लागि नेपली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहेको बताए।
त्यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए।



