काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा २८ लाख २० हजार ३७५ रुपियाँ बिगो कायम गरि कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरि सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।
यसैगरी, रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ वतन भएका वसन्त कुँवर बस्न्यात क्षेत्रीविरुद्ध आठ लाख ९४ हजार पाँच सय, कैलाली गोदावरी नगरपालिका-६ वतन भएका सुरेश चौधरीविरुद्ध दुई लाख ६९ हजार र दोलखा मेलुङ गाउँपालिका-६ वतन भएकी रस्मिता भन्ने रस्मिता श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ रुपियाँ मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरू सबैबाट सो रकम बराबरको बिगो कायम गरि कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरि मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार उनीहरू विरुद्ध खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराए बापत घुस रकम माग गरी लिई भ्रष्टाचार गरेको आरोप लागेको छ।



