बाग्लुङ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो।
प्रहरीले पहिरोले पुरिएका सबै शव निकालेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
यसैबीच पाल्पामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको माथागढी गाउपालिका २ रुप्से रजौलीका शेरबहादुर चिदी र रिब्दीकोट गाउपालिका ६ ठिमुरे धुस्तुङकी ५९ वर्षीय कृष्ण कुमारी सारुको पहिरोमा पुरिएर मृत्युु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार पहिरोले पुरिएका दुवैजनाको शव निकालेर परीक्षणका लागि तानसेन जिल्ला अस्पताल पठाइएको छ।
यसैगरी माथागढी ३ मा लिलबहादुर घर्तीको घर पहिरोले पुरिंदा उनका परिवारका दुई जना र छिकेकीकी छोरी गरि तीन जना बेपत्ता भएका छन्। प्रहरीले उनीहरूको खोजी जारी राखिएको जनाएको छ।
देशका विभिन्न स्थानमा समेत बाढी तथा पहिरोले क्षती पुर्याएका खबरहरु आइरहेका छन्। सरकारले जोखिम क्षेत्रहरूमा सतर्क रहन सबैमा आग्रह गर्दै आइरहेको छ।



