धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप लगाएका छन्।
मुख्यमन्त्री भट्टले श्रीमती मन्जु बम सहित कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगेर जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाएका हुन्। कैलालीमा असोज १ गतेदेखि जेई विरुद्धको खोप अभियान सुरु भएको हो।
कैलालीका तीन वटा स्थानीय तहमा हाल जेई विरुद्धको खोप अभियान संचालन भइरहेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा, लम्कीचुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा खोप अभियान संचालन गरिएको हो।
स्वास्थ्य कार्यालय कैलालीले ३० वर्षमाथिका सबै नागरिकलाई नजिकैको खोप केन्द्रमा पुगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिरहेको छ।
कैलालीमा जेई विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ७१ हजार ५५४ जनाले खोप लगाएका छन्। जिल्लाको कुल लक्षित जनसंख्या १ लाख ७६ हजार ३४४ रहेकोमा हालसम्म ४०.५७ प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले जानकारी दिए।
उनले घोडाघोडी र लम्कीचुहा नगरपालिकामा छुटेका व्यक्तिहरूलाई जेई खोप लगाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिए।
स्थानीय तहअनुसार हालसम्मको खोप कभरेज घोडाघोडी नगरपालिकामा ८७.०१ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा १४.४५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।



