काठमाडौँ। रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित निलकण्ठ होल्डिङ सेन्टरमा रहेका ५४ जनाको आँखा जाँच गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित निलकण्ठ होल्डिङ सेन्टरमा आयोजित शिविरमा ५४ जनाको आँखा जाँच गरिएको हो।
भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको हो।
शिविरबाट ५४ जना बालबालिका तथा प्रौढहरूले आँखा जाँच तथा उपचार सेवा लिएको नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले जनाएको छ। क्लिनिकल परीक्षणका क्रममा ७ जनामा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या पहिचान भएको छ।
समस्या देखिएका सबै ७ जना सेवाग्राहीलाई आवश्यक उपचार, औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाले जनाएको छ।
बिरामीहरूका लागि आवश्यक सम्पूर्ण औषधि तिलगङ्गा आँखा प्रतिष्ठानले उपलब्ध गराएको थियो।



