काठमाडौँ। नेपालमा आर्थिक वर्ष २०८२/८३ मा कुल १ लाख ५ हजार ६२८ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कुल १ लाख ५ हजार ६२८ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका हुन्। महाशाखाले १२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा यो तथ्यांक सार्वजनिक गरेको हो। शनिबार सुरक्षित गर्भपतन सेवा दिवस २०८३ देशभर मनाइँदैछ।
महाशाखाका निर्देशक डा. ओम प्रसाद अर्यालका अनुसार ७१.२५ प्रतिशतले औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् भने २८.७ प्रतिशतले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन्।
सेवा लिनेहरु सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। सबैभन्दा धेरै २५.४१ प्रतिशतले बागमती प्रदेशमा सेवा लिएका हुन्। यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशमा ६.२४ प्रतिशतले सेवा लिएको महाशाखाका निर्देशक अर्यालले बताए।
नेपालमा तत्कालीन मुलुकी ऐनको ११ औं संशोधनबाट गर्भपतनलाई कानुनी अधिकारको रूपमा स्थापित गरिएको थियो। हरेक वर्ष असोज १० गतेलाई राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका रुपमा स्मरण गर्दै यो दिवस देशव्यापी रूपमा मनाउँदै आइएको छ।
यस वर्ष “ऐक्यबद्धतासहित अघि बढौं : विपद्मा सुरक्षित गर्भपतन सेवा लगायत प्रजनन न्याय सुनिश्चित गरौं”
भन्ने मूल नाराका साथ बाह्रौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ।
नेपालमा गर्भपतनलाई प्रजनन स्वास्थ्य अधिकारको रूपमा स्थापित गरी सुरक्षित गर्भपतन सेवाको विस्तार भएको २४ वर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्।
त्यसैगरी असुरक्षित गर्भपतनका कारण महिलाहरूको स्वास्थ्यमा हुने प्रजनन स्वास्थ्य समस्याहरूको न्यूनीकरणका लागि पनि उल्लेख्य काम भएका छन्। यो सफलता हासिल गर्नका लागि सरकारले अबलम्बन गरेका प्रभावकारी नीति, कार्यक्रमहरू, सहकार्य र एक्यवद्धताले मुख्य भूमिका खेलेको छ।
नेपालको संविधानले प्रजनन स्वास्थ्य अधिकार सहित गर्भपतनको अधिकारलाई मौलिक हकको रूपमा अंगीकार गरी यसको सम्मान, संरक्षण र परिपूर्ति गर्दै सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य सेवा बनाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को उद्देश्य रहेको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ र नियमावली २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण र गर्भपतन पश्चात सेवा तथा आवश्यक परामर्श र परिवार योजना सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ।
आगामी दिनमा यी सेवाहरूलाई थप एकीकृत गर्दै सुरक्षित गर्भपतन सेवालाई गुणस्तरीय, पहुँचयोग्य, सम्मानजनक र निरन्तर रूपमा उपलब्ध गराउन आवश्यक रहेको महाशाखाले जनाएको छ। यही उद्देश्य अनुरूपको सेवा उपलब्ध गराउन सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिला र किशोरीको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिएको र सोही अनुरूपका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको महाशाखा बताउँछ। हाल यो सेवा देशभर उपलब्ध छ।
`यस वर्ष रुसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढीले स्वास्थ्य संस्था, सडक तथा यातायातमा क्षति पुर्याउँदा अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच प्रभावित भएको छ। विपद्का कारण केही स्वास्थ्य संस्थामा क्षति भई नियमित सेवा अवरुद्ध भएको अवस्थामा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच थप चुनौतीपूर्ण बनेको छ। तर, विपद्ले सुरक्षित गर्भपतन सेवाको आवश्यकता रोक्दैन। यस्तो अवस्थामा आवश्यक सुरक्षित गर्भपतन सेवा समयमै उपलब्ध हुन नसक्दा अनिच्छित गर्भधारणसँगै महिला तथा किशोरीहरूमा मानसिक तनाव, चिन्ता र अन्य सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्या थपिन सक्ने जोखिम रहन्छ। त्यसैले विपद् प्रभावित क्षेत्रका महिला तथा किशोरीलाई सुरक्षित र गुणस्तरीय सुरक्षित गर्भपतन सेवासहित आवश्यक यौन तथा प्रजनन स्वास्थ्य सेवा निरन्तर र समयमा उपलब्ध गराउन स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक छ।´ महाशाखाले १२औँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूसँगको सहकार्यमा यो दिवस मनाउँदै आइएको छ।



