नुवाकोट। विश्व स्वास्थ्य संगठन (WHO) ले बाढी प्रभावित समुदायलाई आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई मेडिकल क्याम्प किट (MCK) हस्तान्तरण गरेको छ।
नुवाकोटमा आज आयोजित कार्यक्रममा नेपालका लागि डब्ल्यूएचओकी कार्यवाहक प्रतिनिधि डा. एलिसन गोकोटानोले उक्त किट प्रदेश स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेकी हुन्।
सडक क्षतिका कारण जिल्लाको मुख्य रेफरल अस्पताल त्रिशूली अस्पतालसम्मको पहुँच अवरुद्ध भएपछि त्रिशूली नदीको दक्षिणी क्षेत्रका बाढी प्रभावित समुदायलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आपत्कालीन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो।
डब्ल्यूएचओले मेडिकल क्याम्प किटसँगै अन्तरनिकाय आपत्कालीन स्वास्थ्य किट, चिकित्सा उपकरण तथा अन्य लजिस्टिक सामग्रीसमेत हस्तान्तरण गरेको जनाएको छ।

हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायत स्वास्थ्य तथा अर्थमन्त्री, प्रदेशका वरिष्ठ स्वास्थ्य अधिकारी, जिल्ला प्रशासन तथा स्थानीय तहका प्रतिनिधि र अस्पतालका प्रमुखहरूको सहभागिता थियो।
बाढी आएको एक महिना बितिसक्दा पनि डब्ल्यूएचओले स्वास्थ्य अधिकारी तथा साझेदार संस्थासँगको सहकार्यमा प्रभावित क्षेत्रमा काम जारी राखेको जनाएको छ। स्वास्थ्य सेवा पुनःस्थापना, रोग निगरानी प्रणाली सुदृढीकरण तथा क्षतिग्रस्त स्वास्थ्य संस्थाको पुनःस्थापनामा डब्ल्यूएचओले सहयोग गरिरहेको छ।
डब्ल्यूएचओका अनुसार आज हस्तान्तरण गरिएको मेडिकल क्याम्प किट खरिदका लागि आवश्यक आर्थिक सहयोग युरोपेली संघको EU Civil Protection & Humanitarian Aid बाट प्राप्त भएको हो।




