मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सल्यानको दार्मामा ३५१ जनामा परीक्षण गर्दा ९७ जनामा ‘स्क्रब टाइफस’

सल्यानको दार्मामा ३५१ जनामा परीक्षण गर्दा ९७ जनामा ‘स्क्रब टाइफस’

बढाइयो परीक्षण

images
२०८३ आश्विन ८ गते, बिहिवार
२०८३ आश्विन ८ गते, बिहिवार
  • सल्यान। सल्यानको दार्मा गाउँपालिकामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण बढ्दै गएको छ।

    images

    पछिल्लो दुई दिनमा ३५१ जनामा ‘स्क्रब टाइफस’ परीक्षण गर्दा ९७ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमण देखिएका स्थानमा परीक्षणको दायरा पनि बढाइएको छ। दार्माको वडा नम्बर १,२,३,५ र ६ मा ‘स्क्रब टाइफस’ बाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ।

    images

    गाउँपालिकामा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरा विस्तार गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी प्रभावित दार्मा–१ को स्वास्थ्य चौकीबाट परीक्षण सुरु गरिएको छ। बिहीबार दार्मा–५ को वडा कार्यालयमासमेत परीक्षण गरिंदै छ। 

    थप परीक्षणका लागि अझै एक हजारदेखि एक हजार दुई सय थान किट आवश्यक रहेको बस्नेतको भनाइ छ। सङ्क्रमण बढ्दै गएपछि जिल्ला अस्पताल सल्यानबाट चिकित्सकसहितको टोली आवश्यक औषधी र परीक्षण सामग्री लिएर दार्मा पुगेका छन्।

    परीक्षणका लागि आवश्यक किट अभाव भएपछि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग थप किट उपलब्ध गराउन आग्रह गरेको थियो। सो आग्रहपछि काठमाडौँस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान ‘स्क्रब टाइफस’ र्‍यापिड टेस्ट किट दार्मा पठाएको थियो।

    परीक्षणका लागि जिल्ला अस्पताल सल्यानका डा. बालाराम केसीको नेतृत्वमा पुगेको टोलीले गाउँपालिकाका दुई स्थानमा परीक्षण गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

    दार्मामा पछिल्लो एक महिनामा ‘स्क्रब टाइफस’ का कारण बुधबारसम्म ८ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमण बढेपछि प्रभावित बस्तीमा स्वास्थ्यकर्मी परिचालन गरी परीक्षण, उपचार तथा निगरानीलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगन्जमा उपचारका लागि लगिएकी दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको बुधबार उपचारका क्रममा निधन भएको थियो।

    यस्तै कर्णाली प्रदेश सरकारले पाँच सय थान परीक्षण किटसँगै आवश्यक औषधी दार्मा पठाएको छ। मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार बिहान प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई प्रभावित क्षेत्रमा तत्काल परीक्षण किट र औषधी पठाउन निर्देशन दिए अनुसार आवश्यक औषधी र परीक्षण किट पठाइएको हो।

    कर्णाली  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले बुधबार नै परीक्षण किट र औषधी सल्यान पठाइएको जानकारी दिए।

    यसअघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट दुई सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी कुल ४५० थान परीक्षण किट दार्मा पठाइएको थियो। नयाँ किटसमेत गरी दार्मामा हालसम्म एक हजार ९५० थान परीक्षण किट उपलब्ध भएको स्वास्थ्य शाखाले जनाएको छ।

    जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार टोलीले परीक्षणसँगै स्थानीयलाई सङ्क्रमणबाट जोगिने उपायबारेमा समेत जानकारी गराउने छ।

    स्वास्थ्य शाखाका अनुसार दार्मामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण गत वर्षदेखि नै देखिएको थियो। गत वर्ष दार्मामा चार जनाको मृत्यु भएको र १४५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। 

    दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको हो। स्वास्थ्य शाखाका अनुसार यसअघि वडा नं. ६ का ८२ वर्षीय बलबहादुर थापा, ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नं. ५ का ६९ वर्षीय तुलबहादुर खड्का,  वडा नं. १ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय तथा वडा नं. २ का १२ वर्षीय नरेश ओलीको संक्रमणबाट मृत्यु भएको थियो।

    यसैबिच सल्यानका कालीमाटी र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाले पनि ‘स्क्रब टाइफस’ परीक्षणका लागि किट माग गरेका छन्। उनीहरूले सङ्क्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै परीक्षण तथा निगरानी बढाउन यस्तो आग्रह गरिएको बताएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend