काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले काठमाडौँ उपत्यकामा सवारी प्रदूषण नियन्त्रण तथा अनुगमन सुरु गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूको निर्देशनपछि वातावरण विभागले मंगलबारदेखि सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमन सुरु गरेको हो।
सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमनका लागि वातावरण विभागले कार्यतालिका नै बनाएको छ।
जसअनुसार हप्तामा ५ दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिने छ।
जसअनुसार हप्तामा ३ दिन सडकमा सञ्चालन हुने सवारीसाधनको प्रदूषण परीक्षण गरिने छ भने २ दिन विद्यालयका सवारीसाधन (स्कुल बस) को प्रदूषण परीक्षण गरिने वातावरण विभागले जनाएको छ।
विभागले परीक्षण तथा अनुगमनका क्रममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने पनि जनाएको छ।
मंगलबार भने पहिलो दिन विभागबाट खटिएको टोलीले रोजबड स्कुल, बुद्धनगरका १२ वटा स्कुल बसको प्रदुषण परिक्षण गरेको थियो। सो क्रममा परिक्षण गरिएका सबै बसमा कुनै कैफियत नदेखिएको विभागले बताएको छ।



