काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले भोटेकोशी बाढी प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको छ।
परिषद्ले उक्त रकम वापतको चेक सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषमा उपलब्ध गराएको हो। रकम हस्तान्तरण कार्यक्रममा परिषद्का अध्यक्ष सगुन पौडेल, सदस्य बसन्त श्रेष्ठ, रजिष्ट्रार रमेश श्रेष्ठ लगायतका पदाधिकारी तथा कर्मचारी सहभागी थिए।
गत भदौ १० गते चीनतर्फबाट रसुवा हुँदै भोटेकोशीमा बाढी आउँदा ठूलो जनधनको क्षती भएको थियो।सरकारले बाढीग्रस्त क्षेत्रमा खोज तथा उद्धारको कार्य जारी राख्दैगर्दा परिषद्ले सरकारलाईसो सहयोग रकम उपलब्ध गराएको हो। परिषद्ले यसअघि नै सो रकम राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको थियो।
परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीहरुबाट जम्मा भएको कोषको रकमबाट उक्त सहयोग रकम उपलब्ध गराइएको हो।
हालसम्म प्रधानमन्त्री दैवीप्रकोप उद्दार तथा राहत कोषमा १५ अर्व १६ करोड भन्दा बढी रकम संकलन भईसकेको छ।



