काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजेको कतार एयरलाइन्सको जहाज मार्फत कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहलाई बिदाइ गर्न गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
उनलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। उनलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्ने छन्।
सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्ने छन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने छन्।
त्यसलगत्तै प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ।
असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा प्रस्थान गर्ने कार्यतालिका छ। प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ।



