मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

असोज ९ देखि ११ सम्म भारी वर्षाको पूर्वानुमान, उर्जा मन्त्री र गृहमन्त्री पुगे मौसम विभाग

असोज ९ देखि ११ सम्म भारी वर्षाको पूर्वानुमान, उर्जा मन्त्री र गृहमन्त्री पुगे मौसम विभाग

images
२०८३ आश्विन ६ गते, मंगलवार
२०८३ आश्विन ६ गते, मंगलवार
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन्।

    images

    पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन्।

    images

    ‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्,’ उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिंदै भने।

    मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए।

    ‘प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस्, तपाईहरु एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ उनले भने।

    मन्त्री श्रेष्ठले कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्नेमा पनि जोड दिए।

    उनले यसपटक सरकारले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई विशेष जोड दिएको बताउँदै कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गरे।

    ‘सरकारको तर्फबाट अनुरोध गर्छु यात्रा गर्दा सुसूचित भएर गर्नुस्। चाडबाडको बेला छ, कहीँ पनि यात्रा गर्नुअघि जानकारी लिएर गर्नुस्,’ उनले भने।

    मन्त्री श्रेष्ठले सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि उद्धारकर्मी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेको बताए । रसुवाको भोटेकोशी बाढीबाट सिकेर यसपालि पूर्वतयारीलाई विशेष ख्याल गरिएको बताए । 

    ‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौ, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने।

    विपद प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्ने उनको भनाइ थियो। ‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ। कोर्डिनेसनहरु प्रदेश सरकारसँग पनि गर्नुपर्छ,’ उनले भने, ‘सूचनाहरुलाई राम्रोसँग फ्लो गरिदिनुस्।’

    मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर ९ देखि ११ सम्मको अवधिमा सुसूचित भइदिन र आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिलसमेत गरे।

    सुरक्षा निकायलाई अलर्ट गरिएको छ : गृहमन्त्री गुरुङ

    गृहमन्त्री गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको पनि बताए। ‘नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘अवस्था के छ र के तयारी गर्नुपर्छ भन्ने सिलसिलामा हामीले ब्रिफिङ लिएका छौं।’

    तयारीका लागि दुई दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो। मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए।

    उनले अब ट्रेकिङमा नजान र गएकाहरुलाई सुरक्षित ठाउँमा जान पनि अनुरोध गरे। मन्त्री गुरुङले विपद् कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न पनि निर्देशन दिए।

    विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले मन्त्रीद्वय श्रेष्ठ र गुरुङलाई सम्भावित विपद्को जोखिमबारे ब्रिफिङ गरेका थिए।

    पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमी नेपालको गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिमको तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण उनीहरुले सुनाएका थिए। जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरुले उल्लेख गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend