काठमाडौँ। नेपालमा जापानिज इन्सेफ्लाइटिसबाट मृत्युु हुनेको संख्या २८ पुगेको छ।
स्वास्थ्य सेवा बिभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार असोज ५ गते (21 September 2026) सम्म प्राप्त विवरणमा ३६ जिल्लाका ८९ स्थानीय तहमा १२९ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको रिपोर्ट भएको छ। जसमा ७२ जना पुरुष र ५७ जना महिला छन्।
जेई संक्रमणका कारण मृत्युु हुनेहरुमा झापामा ७ जना छन्। यसैगरी सुनसरीमा २, सप्तरीमा २, पर्सामा २, कैलालीमा २ र अर्घाखाँचीमा २ जना छन्।
यस्तै मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कंचनपुर, रोल्पा र पाल्पामा एक-एक जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो पटक मृत्यु भएका दुई जना मध्ये झापा र पाल्पामा एक-एक जना छन्।
महाशाखाका अनुसार ८७ प्रतिशत जेई संक्रमितले जेई विरुद्धको खोप नलगाएको पाइएको छ। मृत्युु हुने सबै खोप नलगाउनेहरु हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल झापा र कैलाली जिल्लामा जापानिज इन्सेफलाइटिस रोग विरूद्धको विशेष खोप अभियान संचालन गरिरहेको छ।
कैलाली जिल्लाको घोडाघोडी र लम्कीचुहा नगरपालिकामा असोज १ गते देखि जेई विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ भने धनगढी उप-महानगरपालिकामा भने असोज ८ गतेदेखि सञ्चालन हुँदैछ।
यसैगरी झापा जिल्लाको सबै १५ स्थानीय तहमा असोज १ गतेदेखि खोप अभियान सुरू भएको छ। अभियानमा ३० वर्ष वा सो भन्दा माथिका ब्यक्ति र स्वास्थ्यकर्मीलाई लक्षित समूह मानिएको छ।





