काठमाडौँ। त्रिपुरेश्वरमा सोमबार बसमा आगजनीपछि निधन भएका चालकका आफन्तले किर्तिपुरस्थित बर्न अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
बसमा आगजनीपछि घाइते भएका चालकको उपचारका क्रममा सोमबार राति नै निधन भएको थियो। उनको निधनपछि मंगलबार आफन्त र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर प्रदर्शन गरेका हुन्।
प्रहरीका अनुसार बसमा फेला परेको सवारी चालक अनुमति पत्रमा उल्लेख भएका ब्यक्ति अरु नै भएको र मृत्यु हुने चालक अर्जुन दोङ रहेको खुलेको थियो।
प्रदर्शनका क्रममा दोङकी दुई श्रीमतीले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।
`बुढाको न्यायका लागि आवाज उठाउँछौं, मर्न बाध्य पार्नेहरुलाई कारबाही हुनुपर्छ।´ उनीहरूले भनेका छन्।
स्वतन्त्र चालक संघले पनि चालक दोङको न्यायका लागि निष्पक्ष छानबिनको माग गरेको छ। संघका अध्यक्ष धनबहादुर श्रेष्ठले चालक दोङका परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने पनि माग गरे।
`चालकलाई मर्न बाध्य पार्नेहरुलाई कारबाही हुनु पर्छ, हाम्रो माग घटनाको निष्पक्ष छानबिन होस् भन्ने हो, दोषीलाई कारबाही हुनै पर्छ, परिवारलाई उचित क्षतिपूर्ति दिइयोस्।´ संघका अध्यक्ष श्रेष्ठले भने।
उनले चालकहरूमाथि हुने ज्यादती र बेथितिको पनि अन्त्य हुनु पर्नेमा जोड दिए।
सोमबार बसमा फेला परेको सवारी चालक अनुमति पत्रमा चालकको नाम २५ वर्षका दावा लामा भएको भनिएको थियो। प्रहरी अनुसन्धानमा आगजनीपछि घाइते भएका चालक उक्त नामको ब्यक्ति नभएको खुलेको थियो।
आगजनीपछि उनलाई प्रहरीले उद्धार गरि कीर्तिपुर बर्न अस्पताल पुर्याएका थिए। उनको उपचारका क्रममा सोमबार राति नै निधन भएको अस्पतालकि निर्देशक निजिना ताम्राकारले जानकारी दिएकी थिइन्।
अस्पतालकाका अनुसार आगजनीबाट घाइते चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो। सोमबार त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा विवाद हुँदा उनले आफ्नो गल्ती नभएको भन्दै बरु मर्न तयार रहेको बताएका थिए।
सो क्रममा भनाभन बढेपछि उनले रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसका सबै यात्रुलाई बाहिर निकालेर बसमा आगजनी गरेका थिए। सो क्रममा उनी घाइते भएका थिए।
घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपत्यका प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति गठन गरेको छ।



