काठमाडौँ। स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले पाएका छन्।
गत शुक्रबार स्वास्थ्य मन्त्री निशा मेहताले ११औं तहका डा. पौडेललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। गत शुक्रबार मन्त्री मेहताले डा. पौडेललाई विभागको निमित्त महानिर्देशक बनाउने निर्णय गरेकी थिइन्।
यसअघि विभागमा निमित्त महानिर्देशकको जिम्मेवारीमा डा. अनुज भट्टचन थिए। डा भट्टचनलाई विभागसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको दोहोरो जिम्मेवारी दिइएको थियो। अब उनले महाशाखाको मात्र जिम्मेवारी सम्हाल्ने छन्।
डा. पौडेल बाल रोग विशेषज्ञ हुन्। उनलाई यसअघिकी स्वास्थ्य मन्त्री डा. सुधा शर्माले २०८२ माघमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कायम राख्दै बीमा बोर्डकोसमेत कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी थिइन्।
स्वास्थ्य मन्त्रालयमा रहँदा उनले धेरै मन्त्रीलाई झेल्दै लामो समय नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा काम गरेका थिए।
तर, तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बीमा बोर्डको कार्यकारी निर्देशक बनाएर बोर्डमा भित्राएका डा. रघुराज काफ्लेले २०८२ माघ ४ गते पदबाट राजिनामा दिएपछि प्रदीप पौडेल पछिका मन्त्री शर्माले डा. पौडेललाई बोर्डकोसमेत जिम्मेवारी दिएकी थिइन्।
स्वास्थ्य बीमा ऐन ०७४ अनुसार कार्यकारी निर्देशक नियुक्ति नभएसम्मका लागि कार्यकारी निर्देशकको रुपमा काम गर्ने मन्त्रालय वा अन्तर्गत बहाल रहेको नेपाल स्वास्थ्य सेवाको कम्तीमा ११औं तहको कर्मचारी खटाउन सक्ने ब्यवस्था भए बमोजिम उनलाई बोर्डको समेत जिम्मेवारी दिइएको थियो।
त्यसपछि नयाँ सरकार बनेपछि गत बैशाखमा वर्तमान मन्त्री मेहताले डा. पौडेलको काज फिर्ता गर्दै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा पठाइदिएकी थिइन्। उनैले अहिले डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।
`नयाँ जिम्मेवारी पाएको छु, सरकारले दिएको जिम्मेवारी निर्वाह गर्छु।´ डा. पौडेलले एक्सरे नेपालसँग भने।
डा. पौडेल २०७६ साल फागुनमा कान्ति बाल अस्पतालको निर्देशक बनेका थिए। उनीसँग नेतृत्वमा बसेर काम गरेको अनुभवसँगै ब्यवस्थापकीय अनुभवसमेत छ। तर उनले पटकपटक नेतृत्व परिवर्तनको असर भोग्दै आएका थिए।



