काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मंगलबार आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क जान लागेका हुन्।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह भन्दा अघि नै परराष्ट्रमन्त्री शिशिर खनाल आवश्यक तयारीका लागि त्यसतर्फ लागिसकेका छन्।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
पहिलो विदेश भ्रमण स्वरुप हुन लागेको यो भ्रमण सकेर प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।



