मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन गर्न बन्यो ७ सदस्यीय समिति

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन गर्न बन्यो ७ सदस्यीय समिति

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • काठमाडौँ। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बस चालकले आफू बसभित्रै बसेर गरेको आगजनीको अध्ययन गर्न छानबिन समिति गठन भएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेका हुन्।

    images

    समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी छन्।

    सोमबार त्रिपुरेश्वरमा बा५ख ४२७४ नम्बरको बसमा चालक आफैँले आगजनी गरेका थिए। सो घटनाअघि ट्राफिक प्रहरीसँग जरिवानाको विषयमा वादविवाद भएको भनिएको छ।

    छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गर्नेछ।

    छानबिन समितिको कार्यादेशमा घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ। यस्तै, घटनास्थललाई प्रत्यक्ष रूपमा देखे जानेका व्यक्तिसँग सोधपुछ गरी जानकारी लिने कार्यादेश समितिलाई दिइएको छ।

    यसैगरी घटनास्थल वरपरको सिसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण यकिन गर्नुपर्नेछ।

    यस्तै, घटनाको समग्र पक्षको विश्लेषण गर्ने, पार्किङ बेमा गाडी पार्किङ गरी राखिएको समय र गाडीमा आगजनी भएको समय बीचको ‘टाइमलाइन’ सहितको तथ्यगत विश्लेषण गर्ने उल्लेख छ।

    घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको मोबाइल वा अन्य कुनै निजको साथबाट प्राप्त हुनसक्ने घटनासँग सम्बन्धित भई निजले सम्प्रेषण गरेका भिडिओ, म्यासेज वा कोही कसैसँग निजको सम्पर्क भएको भए कल विवरण निकाल्ने कार्यादेश समितिलाई दिइएको छ । 

    घटनासँग सम्बन्धित विवरणका आधारमा सत्यतथ्य पत्ता लगाई के कसका कारणबाट उक्त घटना घट्न गएको हो ? यकीन गरी प्रतिवेदन पेस गर्ने र आगामी दिनमा यस प्रकृतिका घटना घट्न नदिनका लागि अपनाउनुपर्ने पूर्वसावधानी र नियन्त्रणका लागि उपायसहितको सुझाव समितिले पेस गर्नुपर्नेछ।

    समितिले छानबिनको कार्यविधि र तालिका आफैँ तय गर्नेछ। समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रहने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend