काठमाडौँ। नेपाल चिकित्सक संघले भोटेकोशी बाढीका कारण रसुवाबाट घरबास गुमाएर नुवाकोटको पिपलटारमा आश्रय लिइरहेका १५० भन्दा बढी परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।
चिकित्सक संघले सोमबार संघ र युएसभी फार्मास्युटिकल्सको तर्फबाट ती अत्यावश्यक राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेको हो। संघका अध्यक्ष डा. बद्री रिजालले ती अत्यावश्यक सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका राहत सामग्रीमा ३०० थान म्याट्रेस, १५० थान प्रेसर कुकर तथा ७५० थान थाल र गिलास छन्। ती सामग्री पिपलटारमै पुगेर हस्तान्तरण गरिएको थियो।
संघले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा र दैनिक जीवनका आधारभूत सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउनु सामाजिक र मानवीय दायित्व भएको जनाएको छ।
संघले प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा पनि राहत तथा पुनर्स्थापनाका कार्यहरूलाई निरन्तरता दिने अध्यक्ष डा रिजालले प्रतिबद्धता व्यक्त गरे।
राहत अभियानमा सहकार्य गर्ने युएसभी फार्मास्युटिकल्सका साथै उद्धारपछिको उपचारमा खटिएका सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरूप्रति हार्दिक आभार पनि प्रकट गरेको छ।









