काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नेपालको कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा अल्जाइमर्स तथा डिमेन्सियाको चुनौती बढ्दै गएको बताएकी छिन्।
विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले अल्जाइमर्स तथा डिमेन्सियाको चुनौतीलाई कम गर्न प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताइन्।
मन्त्री बादीले अल्जाइमर्सका लक्षण प्रारम्भिक चरणमै पहिचान गर्दा समयमै आवश्यक उपचार गर्न सकिने उल्लेख गरिन। उनले सबैमा स्वस्थ जीवनशैली अपनाउन र उचित खानपानमा ध्यानदिन पनि आग्रह गरिन।
यस वर्षको विश्व अल्जाइमर्स दिवसको अन्तर्राष्ट्रिय नारा “The Earlier You Know; The More You Can Do: A Dementia Diagnosis Matters.” रहेको छ भने नेपालमा “जति छिटो हुन्छ ज्ञान, उति सहज निदान : महत्त्वपूर्ण छ डिमेन्सियाको पहिचान” भन्ने नारासहित दिवस मनाइँदैछ।
अल्जाइमर्स तथा डिमेन्सियाबाट प्रभावित व्यक्तिलाई रोगकै कारण विभेद वा हेयभाव गर्न नहुनेमा जोड दिँदै मन्त्री बादीले परिवार, समुदाय, सरकार तथा सरोकारवाला सबैको सहकार्यमा प्रभावित व्यक्तिको सहयोग, संरक्षण र सम्मान सुनिश्चित गर्नुपर्ने बताइन्।त्यसका लागि परिवार, समुदाय र राज्यको साझा प्रयास आवश्यक रहेको उनको सन्देश छ।
विश्व स्वास्थ्य संगठनले विश्वमा प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिने अनुमान गरेको छ। यो संख्या २०५० सम्म दोबर हुने डब्लुएच्ओको अनुमान छ।
प्रत्येक तीन सेकेन्डमा एक जनामा डिमेन्सिया हुने अध्ययनले देखाएको छ। निम्न र मध्यम आय भएका देशबाट तीन जनामध्ये दुई जनामा डिमेन्सिया हुने देखाएको छ। नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या १० प्रतिशत रहेको छ र बुढ्यायौली वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी बढ्दै गएको छ।
मानसिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा ६० वर्षभन्दा माथिका करिब सात प्रतिशत मानिस कुनै न कुनै प्रकारको डिमेन्सिया रोगबाट प्रभावित हुने देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हाल, विश्वमा पाँच करोड ५० लाख मानिसहरु डिमेन्सिया रोगबाट प्रभावित छन्। जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ। नेपालमा जनसंख्याको वृद्धिसँगै अल्जाइमर तथा डिमेन्सिया स्वास्थ्य समस्याका रुपमा देखिएको छ।
यसैबिच मन्त्री बादीले विपद्का समयमा ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सुरक्षा अझ संवेदनशील विषय बन्ने गरेको पनि उल्लेख गरिन।
यस वर्ष भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते तथा प्रभावित ज्येष्ठ नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिन।
बाढी प्रभावित ज्येष्ठ नागरिकका लागि उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य तथा मनोसामाजिक सहयोगलगायत कार्यमा मन्त्रालयले सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि मन्त्री बादीले व्यक्त गरेकी छिन्।



