मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान सुरु, कैलालीमा ३८ हजार बढीलाई लगाइयो

झापामा जापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान सुरु, कैलालीमा ३८ हजार बढीलाई लगाइयो

images
२०८३ आश्विन ५ गते, सोमवार
२०८३ आश्विन ५ गते, सोमवार
  • झापा। झापामा आजदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सुरु भएको छ।

    images

    झापाका १५ वटै स्थानीय तहमा मंगलबारबाट जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सुरु गरिएको हो। अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मीलाई खोप प्रदान गरिने छ। 

    images

    जेईका कारण बिरामीको मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा खोप अभियान सुरु गरेको हो। कैलालीमा भने असोज १ गतेदेखि नै अभियान सुरु भइसकेको छ। झापामा असोज १५ गतेसम्म अभियान संचालन हुनेछ।

    स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ।

    स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको जानकारी दिए।

    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले लक्षित समुहका सबैलाई आफ्नो नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा सम्पर्क गरी जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन अनुरोध गरे।

    झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको छ।

    कैलालीमा भने तीन वटा स्थानीय तहमा खोप अभियान संचालन गरिएको छ। धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप प्रदान गरिएको गौतमले जानकारी दिए।

    कैलालीका लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा असोज ४ गतेसम्म ३८ हजार ४९२ जनाले खोप लगाइसकेका छन्। 

    धनगढी उपमहानगरपालिका असोज ८ गतेदेखि अभियान सुरु हुनेछ। पहिलो चरणमा उच्च जोखिम भएका क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

    जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। संक्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै मृत्यु समेत हुन सक्ने भएकाले जोखिम क्षेत्रमा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो।

    जापानीज इन्सेफ्लाइटिस पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो रोग धानखेती, सुँगुर पालन गर्ने तथा हाँस पालन गर्ने कृषकलाई बढी लाग्ने गरेको पाइएको डा. गौतमले जानकारी दिए। पानी जम्ने ठाउँमा ‘क्युलेक्स’ लामखुट्टेले फुल पार्ने गर्दछ।

    नेपालमा कस्तो छ पछिल्लो अवस्था?

    आ.व. २०८३/८४ मा हालसम्म १२१ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। यी केसहरू देशका ३६ जिल्लाका ८४ स्थानीय तहमा देखिएका छन्।

    पुष्टि भएका केसहरूमध्ये ८५ प्रतिशतले जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप नलगाएको पाइएको छ।

    हालसम्म जेईका कारण २६ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबै व्यक्तिले जेई विरुद्धको खोप नलिएको पाइएको छ। जेईका कारण भएको मृत्युमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका व्यक्ति छन्।

    जापानिज इन्सेफलाइटिस कसरी फैलिन्छ?

    जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। धानखेत, पानी जम्ने स्थान तथा सुँगुर र हाँस पालिने क्षेत्रहरूमा यसको जोखिम बढी हुन सक्छ।

    चिकित्सकहरुका अनुसार जेई गम्भीर रोग हो। यसको संक्रमण भएका केही व्यक्तिमा मस्तिष्कमा गम्भीर असर पर्न सक्छ र मृत्यु वा दीर्घकालीन स्नायुसम्बन्धी समस्या हुन सक्छ।

    कसरी सुरक्षित हुने?

    जापानिज इन्सेफलाइटिसबाट सुरक्षित रहन खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नु महत्वपूर्ण हुन्छ।

    यसैगरी,
    • झुलभित्र सुत्ने।
    • हातखुट्टा ढाकिने कपडा लगाउने।
    • घरका झ्याल तथा ढोकामा जाली राख्ने।
    • लामखुट्टेको टोकाइबाट बच्न उपयुक्त रिपेलेन्ट प्रयोग गर्ने।
    • घरवरिपरि पानी जम्ने स्थान हटाउने।

    नियमित खोपमार्फत पनि जीईबाट सुरक्षा

    नेपालको नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा जीई खोपको एक मात्रा दिइन्छ। १२ महिनाको उमेरमा खोप लगाउन छुटेको भए ५ वर्षको उमेरसम्म यो खोप लगाउन सकिन्छ।

    नियमित खोपबाट छुटेका बालबालिकाले आफ्नो नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अनुरोध गर्दै आएको छ।

    कस्ता हुन्छन् लक्षण?

    जेई संक्रमण हुँदा सुरुमा सामान्य ज्वरो, टाउको दुख्ने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा उच्च ज्वरो, चेतनामा परिवर्तन, बेसुर हुने, झट्का आउने, मुर्छा पर्ने वा बेहोस हुने जस्ता लक्षण देखिन सक्छन्।

    यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर समय खेर नफाली तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउन चिकित्सकहरू सुझाउँछन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend