काठमाडौँ। गत पुस १७ गतेयता भदौ ३० गतेसम्म नेपालमा ५ हजार २३८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पाक्षिक रुपमा डेंगी रोगको संक्रमणको अवस्थालाई विश्लेषण गरिरहेको छ। जसअनुसार २०८२ पुस १७ देखि २०८३ भाद्र ३० गते (२०२६ जनवरी १ देखि सेप्टेम्वर १५ ) सम्म देशका ७४ जिल्लाहरुबाट ५ हजार २३८ जनामा डेंगी संक्रमण प्रतिवेदन भएको हो।
डेंगी संक्रमण धेरै प्रतिवेदन भएका जिल्ला र स्थानीय तहहरुमा महाशाखाबाट अवस्थाको विश्लेषण सहित डेंगीको रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरु संचालन भईरहेका छन्।
महाशाखाका अनुसार झापा, बागलुङ, सुनसरी, पाल्पा, कास्की, दाङ लगायतका जिल्लाहरुमा संक्रमण बढ्दै गएको देखिन्छ।
स्थानीय तहहरु मध्ये हाल सबैभन्दा धेरै डेंगी संक्रमण बागलुङ नगरपालिका (१०१७ ), भद्रपुर नगरपालिका (१०७ ), इटहरी नगरपालिका (११९ ) र पोखरा महानगरपालिका (१८५ )जनामा भएको तथ्यांक छ।
बागलुङ नगरपालिकामा इपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट इन्टिमोलोजिस्ट, रोग अनुसन्धान विज्ञ (फिल्ड इपिडेमियोलोजिस्ट) र प्रयोगशाला कर्मीहरुको टोलि परिचालन गरि थप क्रियाकलापहरु संचालन भईरहेका छन्। बागलुङमा हाल फैलिरहेको डेंगी संक्रमण पहिचान गर्न सेरोप्रिभिलेन्स अध्ययन भइरहेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भेक्टर कन्ट्रोल शाखाका प्रमुख डा. गोर्कण दाहालले महाशाखाबाट टोलि परिचालन गरि जोखिम नियन्त्रणको प्रयाससँगै सेरोप्रिभिलेन्स अध्ययन भइरहेको जानकारी दिए।
डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। विश्व स्वास्थ्य संगठनका अनुसार यी लामखुट्टेले चिकनगुनिया, यल्लो फिभर र जिका भाइरस पनि सार्ने गर्दछ।
वर्षा र वर्षा पश्चातको समयसम्म पनि डेगी संक्रमण बढ्ने भएकोले सबैले सजकता र सचेतता अपनाउनु पर्ने महाशाखाले जनाएको छ।




