मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सानेपामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय २७ जनाले लिए सेवा

सानेपामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय २७ जनाले लिए सेवा

images
२०८३ आश्विन ४ गते, आइतवार
२०८३ आश्विन ४ गते, आइतवार
  • ललितपुर। काठमाडौं मेडिकल कलेज (केएमसी)को विशेष प्राविधिक सहयोगमा ललितपुरको सानेपामा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ११ सय २७ जनाले सेवा लिएका छन्।

    images

    रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य आयोजनामा आइतबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म रेडियन्ट रिडर्स एकेडेमीको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो।

    images

    केएमसीका विशेषज्ञ चिकित्सकसहित २९ जनाको टोलीले जनरल मेडिसिन, स्त्रीरोग, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक, कान तथा घाँटी, बालरोग, आँखा र दन्तरोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए।

    शिविरमा जनरल मेडिसिनतर्फ १६९, स्त्रीरोगतर्फ ६६, जनरल सर्जरीतर्फ ४१, हाडजोर्नी तथा नसा रोगतर्फ ८३, नाक, कान तथा घाँटीतर्फ १०१, बालरोगतर्फ ५२, आँखातर्फ १९६ र दन्तरोगतर्फ ९६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ।

    यसैगरी दन्तरोगतर्फ ६ जनाको दाँत निकालिएको थियो भने ८४ जनाको इसिजी र १०२ जनाको भिडियो एक्स–रे गरिएको थियो।

    यस्तै प्रयोगशालातर्फ हेमोग्लोबिन (एचबी), सुगर, युरिया, युरिक एसिड, ब्लड ग्रुप, युरिन आरई, प्रेग्नेन्सी टेस्टलगायत परीक्षणबाट १३९ जनाले निःशुल्क सेवा लिएका थिए।

    शिविरबाट थप उपचार आवश्यक देखिएका १९ जनालाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि सिफारिस गरिएको छ।

    केएमसीले शिविरमा सहभागी भई थप परीक्षण वा उपचार आवश्यक पर्ने सेवाग्राहीलाई दुवाकोटस्थित अस्पतालमा असोज महिनाभर ५० प्रतिशत र त्यसपछि २५ प्रतिशत छुट दिने जनाएको छ।

    शिविरमा उपस्थित सबैलाई यो सुविधा उपलब्ध गराइने र रेडियन्ट बहुउद्देश्यीय सहकारीसँग संस्थागत समन्वयपछि सहकारीका सदस्यलाई थप विशेष सुविधा उपलब्ध गराउने अस्पतालले जनाएको छ।

    केएमसीका शिविर संयोजक मदन श्रेष्ठले शिविर व्यवस्थित र योजनाबद्ध रूपमा सम्पन्न भएको बताए। उनले आयोजक रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्थालाई धन्यवाद दिए।

    सहकारीका व्यवस्थापक खगेन्द्र ढुंगानाले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरिएको बताए। उनले केएमसीका चिकित्सकसहितको टोलीले निःशुल्क स्वास्थ्य सेवा दिएकोमा धन्यवाद व्यक्त गरे।

    शिविरमा रेडियन्ट बहुउद्देश्यीय सहकारीका शेयर सदस्य, स्थानीयवासी तथा रेडियन्ट रिडर्स एकेडेमीका विद्यार्थी सहभागी थिए।

    यसैगरी एकेडेमीका शिक्षक तथा शिक्षिका, लायन्स क्लब अफ काठमाडौं निर्वाना र लियोका सदस्य स्वयंसेवकका रूपमा खटिएका थिए भने ग्लोबल कन्सल्ट प्रालि र लायन्स क्लब अफ काठमाडौं क्यापिटल सिटीले सहआयोजकका रूपमा सहयोग गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend