गोरखा। गोरखामा १० वर्षसम्मका किशोरीलाई लक्षित गरी असोज ५ गते अर्थात भोलिदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु हुँँदइछ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षसम्मका किशोरीलाई लक्षित गरी जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागिएको हो।
असोज ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने अभियानमा गोरखाका १६८ वटा विद्यालयका एक हजार ७५३ जना किशोरीलाई एचपीभी खोप लगाइने लक्ष्य राखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत एक हजार ७५३ जना र विद्यालयबाहिर रहेका १० जना किशोरी छन्।
खोप अभियानका लागि जिल्लाका १६८ विद्यालय तथा चार वटा स्वास्थ्य संस्थालाई खोप केन्द्र निर्धारण गरिएको दानीले जानकारी दिए।
उनका अनुसार गत वर्ष सञ्चालन भएको एचपीभी खोप अभियानमा छुटेका लक्षित समूहका किशोरीलाई समेत यसपटक खोप प्रदान गरिनेछ। त्यसअन्तर्गत कक्षा ७ देखि १० सम्म अध्ययनरत खोप लगाउन छुटेका छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख सिम्रन काफ्लेले विद्यालय नजाने १० वर्षसम्मका किशोरीको नामावली सङ्कलन गरी खोप अभियानमा सहभागी गराउन स्थानीय स्वास्थ्य संस्था र सम्बन्धित पक्षलाई आग्रह गरे।
एक मात्रा एचपीभी खोप लगाइसकेका किशोरीले पुनः अर्को मात्रा लगाउन आवश्यक नरहेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। खोप अभियान प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य संस्था, स्थानीय तह र अभिभावकबीच समन्वय आवश्यक रहेको जनस्वास्थ्य निरीक्षक दानीले बताए।



