काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ३१ जिल्लाको वडा अधिवेशन आज हुँदैछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शनिबार सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको थियो।
निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, मधेश प्रदेशको महोत्तरी, वाग्मती प्रदेशको रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गण्डकी प्रदेशको गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपरासी, लुम्विनी प्रदेशको पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, कर्णाली प्रदेशको रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, सुदूर पश्चिम प्रदेशको डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको हो।
सदस्य सचिव कटुवालका अनुसार शनिबार ती अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन आइतबार (आज) हुनेछ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ ।



