काठमाडौँ। माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट ३ टनेलको जाली भित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा थप ११ वटा शव फेला परेको छ।
आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा शनिबार आयोजनाका प्रतिनिधि, नेपाली सेना सहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जाली भित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा थप ११ वटा शव फेला पारेको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले आयोजनामा काम गर्ने मजदुर तथा कर्मचारी टनेल भित्र फसेको अशंकामा खोज तथा उद्धार जारी रहेको नेपाली सेनाले जनाएको छ।
यसअघि शुक्रबार विहान खोज तथा उद्धारका क्रममा अडिट ३ टनेलभित्रबाट डन्डीको जालीमा अड्किएका पहिले ६ र पछि थप ७ गरि १३ वटा शव निकालिएको थियो।
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त टोलीले ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर बसेको अवस्थामा ती शव फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको हो।

यसैगरी त्रिशूली-३ ए को टनेल र पावर हाउस इलाकामा आयोजनाका प्रतिनिधिहरुको संयुक्त टोलीले खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।
यस्तै त्रिशूली- ३ बी मा नेपाली सेना सहितको संयुक्त टोलीले थ्री एक्स एक्साभेटर र लोडरको प्रयोग गरी पावर हाउस भएको स्थानमा उत्खनन गर्दा केही फेला नपरेको हुँदा थप खोजी कार्य जारी रहेको बताइएको छ।



