काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा सैनिक मन्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।
उनले यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको भन्दै सम्बोधनका क्रममा भने छ, `यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ-विविधताबीचको एकता , सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास , समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण।´ उनले अगाडि भने, `प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र , मानव अधिकार र कानूनी राज्य - यी हाम्रा लागि सर्तहरू होइनन् , यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन्। यो संविधानको अक्षर र भावना , दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।´
प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्ने पनि बताए।
`एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। संविधान जति राम्रो भए पनि , त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ।´
प्रधानमन्त्री शाहले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्ने बताए।
`संविधान जारी भएको दिन हरेक वर्ष आउँछ। तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ- हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट , नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट।´ उनले भने।
`जनताले सुशासन मागेका छन् , विकास मागेका छन् , समृद्धि र सामाजिक न्याय मागेका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ- म यो वाचा आज फेरि दोहोर्याउँछु।
शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ।´ उनले अगाडि भनेका छन्।
उनले देशमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ रहेको र त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया भएको पनि बताए।
`म प्रस्ट भन्छु: यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन् , झन् धेरै छन्।´
उनले विकासको लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत रहेको पनि दावी गरे। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको उनको भनाइ थियो।
`सुशासन नारा होइन , काम हो। र हामी काम गरिरहेका छौ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध छ।´
उनले सरकार पुरानो बाटो नहिड्ने बताउँदै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा अघि बढ्ने पनि स्पष्ट पारे।
`हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता , डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर , नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो। युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ।´
प्रधानमन्त्री शाहले हालैको रसुवा -भोटेकोशी बाढीले पुर्याएको क्षति अकल्पनीय र अपुरणीय रहेको बताए। यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्याउने सबै मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरू, आम नागरिक तथा देशवासीहरूप्रति उनले विशेष धन्यवाद र आभार प्रकट गरे।
उनले नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकहरूको सूचीमा रहेको तथ्यलाई विपद् आइसकेपछि नभएर आउनुअघि नै सामना गर्ने पनि बताए। त्यसका लागि जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइने उनले बताएका हुन्। विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ उनको ह्हनाइ थियो।
प्रधानमन्त्री शाहले संविधान दिवसका अवसरमा नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात -अज्ञात शहीदहरू तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका जेन-जी सुशासन योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली पनि अर्पण गरे।
साथै, उनले हालै आएको रसुवा -भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।



