काठमाडौँ। भोटेकोशी बाढीपछिको खोज तथा उद्धारका क्रममा अडिट ३ टनेलभित्र डन्डीको जालीमा अड्किएका थप ७ वटा शव निकालिएको छ।
खोज तथा उद्धारमा खटिएको आयोजनाका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले शुक्रबार १२ बजे त्रिशुली-१ जलविद्युत आयोजनाको अडिट ३ टनेलभित्रको क्षेत्रबाट ६ शव निकालेकोमा आजै थप ७ वटा शव फेला पारेर निकालिएको हो।
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त टोलीले ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर बसेको अवस्थामा ती शव फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको हो।

आज विहान ६ वटा शव निकालेपछि टनेल भित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको थियो। उक्त टनेलभित्र अन्यको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
यसैगरी त्रिशूली-३ ए को टनेल र पावर हाउस इलाकामा आयोजनाका प्रतिनिधिहरुको संयुक्त टोलीले खोजी कार्य गरिरहेको सेनाले जनाएको छ।
यस्तै त्रिशूली- ३ बी मा नेपाली सेना सहितको संयुक्त टोलीले थ्री एक्स एक्साभेटर र लोडरको प्रयोग गरी पावर हाउस भएको स्थानमा उत्खनन गर्दा केही फेला नपरेको हुँदा थप खोजी कार्य जारी रहेको बताइएको छ।

सेनाले टनेल भित्रसँगै जमिनी खोज तथा उद्धार र राहतका कार्यलाईसमेत प्राथमिकताका साथ अघि बढाइरहेको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट जिल्लाका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत लगायतका विभिन्न स्थानहरूमा वेश स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको सेनाले जानकारी दिएको हो।




