काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन वटा संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भएको छ।
मन्त्रिपरिषद्को २०८३ भदौ २९ गतेको बैठकबाट स्वीकृत भएपछि मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (नियमन तथा नियन्त्रण गर्ने) ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ।
स्वास्थ्य क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउँदै सेवा प्रवाह, मातृ तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यी विधेयक अघि बढाएको हो।
मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएसँगै तीनवटै विधेयक अब संघीय संसद्को विधायन प्रक्रियामा प्रवेश गरेका छन्।



