काठमाडौँ। भोटेकोशी बाढीपछिको खोज तथा उद्धारका क्रममा अडिट ३ टनेलभित्र डन्डीको जालीमा अड्किएका ६ वटा शव निकालिएको छ।
खोज तथा उद्धारमा खटिएको आयोजनाका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले शुक्रबार १२ बजे त्रिशुली १ जलविद्युत आयोजनाको अडिट ३ टनेलभित्रको क्षेत्रबाट ६ शव निकालेको हो।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा संयुक्त टोलीले ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर बसेको अवस्थामा ती शव फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा शवहरूलाई ग्राइन्डर, ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको हो।
टनेल भित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले जनाएको छ।



