काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले
एक हप्ताभित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको छ।
रास्वपा सभापति लामिछानेको आह्वानमा बुधबार रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो।
सो बैठकले भोटेकोशी बाढीका सम्बन्धमा प्रभावकारी समन्वय गर्न एक हप्ता भित्र ‘संसदीय विशेष समिति’ गठन गर्ने निर्णय गरेको हो। उक्त समितिमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सिट संख्याको आधारमा प्रतिनिधित्व हुनेछ।
सो समितिले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि प्रभावकारी समन्वय र अनुगमनका सवालमा काम गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठकपछि जानकारी दिए।
सर्वदलीय बैठकमा बाढीपछिको खोज, उद्धार, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणका सन्दर्भमा जारी कामको पनि समीक्षा भएको थियो। यसैगरी सरकारले गरेका काम कारबाही, बढ्दो महँगी नियन्त्रण, ग्यास अभाव लगायतका विषयमा पनि छलफल र समीक्षा भएको थियो।
बैठकले सभापति रवि लामिछाने संयोजक रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय प्नि गरेको छ।
संयन्त्रमा रास्वपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टी लगायत संसद्मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका दलहरूको सहभागिता रहने बताइएको छ।



