काठमाडौँ। मंगलबार राति नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेता मीन विश्वकर्माको सामाजिक संजालमा एउटा स्टाटस आयो, ‘विचार मिल्नेसँग कुरा मिल्यो। कुरा मिल्नेसँग मन पनि मिल्यो। संवाद सम्पन्न, यात्रा प्रारम्भ। जयनेपाल।’ उनको यो स्टाटससँगै उनले चुनदेवी कांग्रेसका सभापति देउवाको साथ छाडे।
आइतबारदेखि नै सामाजिक संजालमार्फत मुल कांग्रेसमा फर्किने नेताहरुको लहर थियो। विश्वकर्मा भन्दा अघि नेतृ सीता गुरुङले पनि सामाजिक संजालमार्फत नै देउवा कांग्रेस छाडेर गगन कुमार थापाले नेतृत्व गरेको मुल कांग्रेस फर्किएको उल्लेख गरिन।
`जय नेपाल। भ्रममा नपरौं। नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डा जहाँ , म त्यहि हुन्छु। "सहमति , सहकार्य र एकता आजको आवश्यकता"
अहिले यो क्रम बढ्दो छ। गत शुक्रबारदेखि एकाएक कांग्रेस इतरमा रहेका नेताहरू धमाधम संस्थापन कांग्रेस तिर फर्कनेक्रम सुरु भएको छ। कतिपय नेताले सामाजिक संजाललाई पनि मुल कांग्रेस फिर्तिको माध्यम बनाइरहेका छन्।
नेता विश्वकर्मा देउवा सभापति हुँदा कांग्रेसको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा थिए। उनले पछिल्लो समय `चुनदेवी कांग्रेस´ को महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आइरहेका थिए।
तर, हिजो सोमबार चुनदेवीमा बसेको देउवा समुहको बैठकमा उनी गएनन्। मंगलबार देउवाले गरेको पत्रकार सम्मेलनमा पनि उनी देखिएनन्। बरु उनले मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै सानेपाको `फिर्ति सवारी´ सुरु गरे।
नेता विश्वकर्माले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेकै दिन कोशी प्रदेशका पुर्व पर्यटनमन्त्री तथा विराटनगरका पुर्व मेयरसमेत रहेका नेता भीम पराजुलीले पनि सामाजिक संजालमार्फत सानेपा कांग्रेसमै फर्किएको उल्लेख गरेका छन्।
‘देश कमजोर रहेको अवस्थालाई मध्यनजर गर्दै हामीले लोकतन्त्र र प्रजातन्त्रको जगलाई बलियो बनाउन तथा जनचाहनाअनुरूप अगाडि बढ्नुपर्छ,’ उनले भनेका छन्,
कांग्रेस पुर्व केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले अगाडि लेखेका छन्, ‘आजको आवश्यकता पनि यही हो। यसर्थ सिंगो नेपाली कांग्रेसलाई अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वमा समर्पित बनेर अगाडि बढ्नुको विकल्प छैन।’
देउवा समूहले पराजुलीलाई आगामी अधिवेशनका लागि मोरङ जिलाको अधिवेशनको जिम्मेवारी दिएको थियो।



