मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अग्रगामी युवा मोर्चाद्वारा आयल निगमको केन्द्रीय कार्यालय घेराउ घोषणा

अग्रगामी युवा मोर्चाद्वारा आयल निगमको केन्द्रीय कार्यालय घेराउ घोषणा

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। लामो समयदेखि खाना पकाउने एलपी ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार भएपछि अग्रगामी युवा मोर्चाले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउको घोषणा गरेको छ।

    images

    अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले मंगलबार मुल्यबृद्धि नियन्त्रण तथा ग्यासको सहज आपुर्तिको माग गर्दै सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको हो। जसअनुसार आगामी असोज ६ गते मोर्चाले नेपाल आयल निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेको छ।

    images

    आम जनता पार्टी (आजपा)को काठमाडौं स्थित कार्यालयमा बसेको मोर्चाको बैठकले आयल निगमको कार्यलय घेराउ गर्ने निर्णय गरेको हो। 

    लामो समयदेखि खाना पकाउने एलपी ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार भइरहँदा पनि बजार अनुगमन सुस्त रहेको भन्दै युवा मोर्चाले बजार मूल्य नियन्त्रण गर्न र अत्यावश्यक सामग्रीको सर्वसुलभ उपलब्धता सुनिश्चित गर्न सरकारसंग माग गरेको छ।

    ‘ग्यास आपुर्तिमा देखिएका समस्या समाधान गर्न तथा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि घटाउन यही असोज ६ गते अग्रगामी युवा मोर्चाद्धारा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने निर्णय गरेका छौं,’ मुल्य बृद्धि नियन्त्रण तथा ग्यास आपुर्तिका लागि अग्रगामी युवा मोर्चाको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ।

    देशमा बढ्दो मूल्यवृद्धि, कालोबजारी र सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अग्रगामी युवा मोर्चाले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारसमक्ष विभिन्न ५ बुँदे माग राखेर संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो।

    वैठकमा आजपा अध्यक्ष प्रभु साह, सहअध्यक्ष तिलक थापामगर, प्रवक्ता सुभाष साह लगायतको विशेष सहभागिता रहेको थियो।

    जारी विज्ञप्तिमा मोर्चामा रहेका समाजवादी युवा संघ नेपालका अध्यक्ष मनिष यादव, समाजवादी युवा संगठनका संयोजक जनकबहादुर कार्की, विद्यार्थी जनमत संघका संयोजक पोषण कुमार यादव, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका प्रतिनिधि विप्लव खुम्बु, आईटी आर्मीका केन्द्रीय प्रतिनिधि राजेश शर्मा, आम विद्यार्थी मोर्चाका केन्द्रीय सचिव प्रिन्स साह, समाजवादी विद्यार्थी युनियन नेपालका उपमहासचिव मुकेश कुमार यादव र कमन जेनजी नेपालका केन्द्रीय प्रतिनिधि रवि ध्वज कार्की, युवा संगठन (प्रलोपा)का सहसंयोजक डिएन जोशीले हस्ताक्षर गरेका छन्। 

    मोर्चाले आफ्ना मागहरू पूरा नभए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत सरकारलाई दिएको छ। मोर्चाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठुलो धनजनको क्षति भएको भन्दै तीनै तहका सरकारबीच समन्वय नहुँदा उद्धार र राहत कार्य प्रभावकारी नभएको आरोप पनि लगाएको छ।

    प्राकृतिक विपद् प्रभावितहरूलाई तत्काल एकीकृत समन्वयमार्फत उद्धार, उचित राहत र स्थायी पुनस्र्थापनाको माग युवा मोर्चाले गरेको छ। यस्तै मुलुकमा संस्थागत हुँदै गएको भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी पारदर्शी एवं सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    यसैगरी, स्वदेशमै रोजगारीका अवसर सिर्जना नगरी दैनिक हजारौँ युवा विदेशिन बाध्य भएको स्थितिमा वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियाको सञ्जाललाई तत्काल नियन्त्रण गर्न सरकारसंग जोडदार माग मोर्चाले गरेको छ।

    आफूहरुको यी जायज मागहरूप्रति सरकारले तत्काल ध्यान नदिएमा अग्रगामी युवा मोर्चा देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend