काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनको बाटोलाई सहज बनाउन विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई पनि सँगै लाने नीति लिएको छ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशनमा विशेष महाधिवेशन पूर्वका केन्द्रीय सदस्यलाई समान हैसियत दिने निर्णय गरेको हो।
यो निर्णयमार्फत संस्थापन कांग्रेसले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई पनि १५औं महाधिवेशनमा समेट्ने प्रयास गरेको देखिन्छ।त्यसका लागि कांग्रेसले `विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने´ निर्णयमा उल्लेख गरेको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा विशेष महाधिवेशन पूर्वका केन्द्रीय सदस्यलाई सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकमार्फत गरिएको बताए।
कांग्रेसले १५औं महाधिवेशन प्रक्रिया २०८३ असोज ३ र ४ गते वडाबाट प्रारम्भ गर्दैछ। यसैगरी असोज १६ देखि १९ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।
१५औं महाधिवेशन उद्घाटन असोज १६ गते १ बजे खुल्ला मञ्चमा प्रारम्भ हुनेछ। कांग्रेसको २०८२ चैत्र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गरी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो।
`पार्टीको सांगठनिक र राजनीतिक जीवनमा महाधिवेशन प्रक्रिया मात्र नभएर महाउत्सब पनि हो। अत: ३ र ४ गते हुने वडा अधिवेशन र अन्य तहगत अधिवेशनमा उत्साहजनक रुपमा सहभागी हुन कार्यसम्पादन समितिको यो बैठक नेपाली कांग्रेस सम्पूर्ण क्रियाशील सदस्यहरू, समर्थक तथा सुभेच्छुकहरूलाई हार्दिक आह्वान गर्दछ।´ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यसका लागि कांग्रेसले आ-आफ्नो तहले विधान बमोजिम निर्वाह गर्नुपर्ने जिम्मेवारी अनुसार निर्वाचन समितिसँग समन्वय गरी तहगत अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सबै तहका कार्यसमितिलाई निर्देश पनि गरेको छ। तोकिएको जिम्मेवारी पुरा नगरेमा विधान बमोजिम बैकल्पिक व्यबस्था हुनेसमेत बैठकको निर्णयमा भनिएको छ।
यसअघि २०८३ साउन २४ गते बसेको बैठकले १५ औं महाधिवेशनका लागि तहगत नवीकरणको सिफारिस भई २०८२ पौष २१ गतेसम्म कांग्रेसको सदस्यता व्यबस्थापन प्रणालीमा प्रविष्ट भएका सदस्यहरू मध्ये विविध कारणले अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरूको हकमा पार्टी परित्याग गरेका, अनुशासनको कारवाहीमा परी सदस्यता गुमाएका र प्रचलित कानून बमोजिम पार्टी सदस्यता लिन नमिलेका सदस्यबाहेक अन्य क्रियाशील सदस्यहरूलाई पार्टीको १५ औं महाधिवेशन प्रक्रियामा सहभागी हुन वञ्चित नगरिने” निर्णय गरेको थियो।
कांग्रेस बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) को धारा ४ (९) बमोजिम पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिद्वारा १५ औं महाधिवेशनको प्रकृयामा सहभागी हुने क्रियाशील सदस्यहरुको नामावली सभापति गगनकुमार थापा समक्ष प्रस्तुत गरिएकोमा सो नामावलीलाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।



