मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नुवाकोटमा नेपाल प्रहरीको अस्थायी फिल्ड अस्पताल, शव पहिचान गर्न डिएनए परीक्षण पनि हुँदै

नुवाकोटमा नेपाल प्रहरीको अस्थायी फिल्ड अस्पताल, शव पहिचान गर्न डिएनए परीक्षण पनि हुँदै

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • नुवाकोट। नेपाल प्रहरीले नुवाकोटमा पाँच शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।

    images

    गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो।

    images

    त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच शैयाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो।

    अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै घण्टा आकस्मिक सेवासहित बहिरङ्ग (ओपिडी), वार्ड, प्रयोगशाला, औषधिलगायत सुविधा आमसर्वसाधारणले निःशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिए।

    उनका अनुसार भोटेकोशी हुँदा त्रिशूली नदीमा आएको बाढीका कारण मानवीय र पशुचौपाय क्षतिपश्चात् फैलनसक्ने सङ्क्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको हो।

    “बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै स्वास्थ्य उपचारका लागि प्रहरीले विशेषज्ञ जनशक्ति, आवश्यक यन्त्र-उपकरणसहित औषधि सेवा निःशुल्क उपलब्ध गराएको छ”, प्रहरी नायब महानिरीक्षक पौडेलले भने, “बाढीले पुल बगाएकाले त्रिशूली अस्पतालको सेवा लिन रसुवा, नुवाकोट तथा त्रिशूलीका बासिन्दालाई कठिनाइ भइरहेको छ। स्वास्थ्यमा सानो समस्या देखिए उपचार गराउन अन्यत्र जिल्ला जानुपर्ने बाध्यता बनेकाले विशेषज्ञसहितको सेवा उपलब्ध गराउन विदुरमा फिल्ड अस्पताल सञ्चालन गरिएको हो।”

    विपद्पछिको अवस्था (पोष्ट डिजास्टर म्यानेजमेन्ट)मा सरुवाजन्य रोगको सङ्क्रमणको जोखिम उच्च रहेकाले सावधानी अपनाउन अपिल गरिएको छ।

    त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई पहिचान गरेर उपचार गर्नु प्रमुख चुनौती भएकाले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई प्रहरीको फिल्ड अस्पतालले प्राथमिकता दिएको छ।

    होल्डिङ सेन्टरको बसाइँमा फरक-फरक बस्तीका बासिन्दा एकैठाउँमा भेला हुँदा रोगको सक्रमण फैलन सक्ने भएकाले सावधानी अपनाउनका लागि स्वास्थ्यकर्मीमार्फत सचेत गराउँदै आइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

    उनका अनुसार शव र सिनुको दुर्गन्ध, प्रदूषित पानी, प्रतिकूल मौसमका कारण हैजा फैलने जोखिम रहेकाले त्यसलाई केन्द्रित गरेर प्रहरीको फिल्ड अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक औषधि उपलब्ध गराइएको छ।

    “विपत्पश्चात्को समयमा प्रभावितलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रमुख चुनौती मानिन्छ”, प्रहरी उपरीक्षक रेग्मीले भने, “स्वास्थ्यसम्बन्धी देखिएका शारीरिक समस्या मात्र नभई उनीहरुको मानसिक अवस्थामा पुगेको अज्ञात प्रभावलाई नजिकबाट बुझेर समस्यालाई समाधान गराउन अस्पतालले जोड दिनेछ।”

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेका व्यक्ति तथा भेट्टिएका बेवारिसे शव पहिचान गर्न प्रहरीले फिल्ड अस्पतालको परिसरमा डिएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ।

    बाढीमा परेर हराएका व्यक्तिको परिवारको सदस्यको नमूना सङ्कलन गर्न नेपाल प्रहरीले यसअघि काठमाडौँ पुग्नुपर्ने बाध्यता हटाई विदुरमा सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो।

    बाढीमा परेर परिवारका सदस्य हराइरहेको भएमा डिएनए उपलब्ध गराउन सम्बन्धित परिवारलाई प्रहरीले अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend