काठमाडौं। विश्व प्राथमिक उपचार दिवस सेप्टेम्बर १२ आज नेपालमासमेत मनाइँदैछ। ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।
विश्वभर विभिन्न कारणले बढ्दै गइरहेको आन्तरिक तथा बाह्य बसाइँसराइ नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीका कारण हरेक वर्ष ठुलो संख्यामा मानिसहरू विस्तापित भई बसाइँसराइ गर्ने गरेका छन्।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बसाइँसराइ यात्रा सहज हुदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ।´
बसाइँसराइ गर्नेहरुलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभइ बसाइँसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुव्र्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्ने विज्ञप्तिमा भानिएको छ।
यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने रेडक्रसले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचार सेवाको आवश्यकता निरन्तर बढिरहेको सन्दर्भमा हालै आएको भोटेकोशी वाढीको समयमा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार, तथा प्रतिकार्यका अन्य गतिविधि लगायत मानवीय सेवा प्रदान गरी यसको महत्वलाई थप पुष्टि गरेका छन्।’
नेपाल रेडक्रसले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था, कुटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचारसम्बन्धी प्रवर्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ।
यस अवसरमा, नेपाल रेडक्रस सोसाइटीले ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ।
रेडक्रसले जीवन रक्षा अभियानमा योगदान पुर्याउने सम्पूर्ण प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकहरू प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ।



