झापा। झापामा आगामी असोज ५ गतेदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण विरुद्ध खोप अभियान सुरु गरिने भएको छ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण र मृत्युदर बढेपछि झापामा आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिने भएको हो। अभियान असोज १९ गतेसम्म संचालन हुनेछ।
सो अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको छ। जिल्लामा सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो।
झापामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएका छन्। खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुँदैछ।
स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ। दासका अनुसार
एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन हुनेछ।
खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या नहुने उनको भनाइ छ। खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिने दासले जानकारी दिए। अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने छ।



