काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गरेकि छन। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि राणा आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन।
डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राइ र मन्त्रालयका अधिकारीहरुले विदाई गरेका थिए।
भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनी चीन प्रस्थान गरेकी हुन। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाने कार्यक्रम छ।
परराष्ट्रमन्त्री राणा यही मंसिर १५ गते शनिबार नेपाल फर्कने छिन।



