चितवन। रसुवाको भोटेकोसी बाढीका कारण बेपत्ता भएका तथा पहिचान हुन नसकेका शवहरूको पहिचान गर्न चितवनमा `डीएनए´ नमुना संकलन तथा पहिचानसम्बन्धी सेवा सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवन, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा र बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा सेवा सञ्चालन गरिएको हो।
बेपत्ता व्यक्तिको पहिचानका लागि उनका बाबु, आमा, छोरा वा छोरीजस्ता नजिकका प्रथम तहका जैविक आफन्तबाट रगतको नमुना संकलन गरिने जनाइएको छ।
संकलित नमुनालाई आवश्यक डीएनए परीक्षणमार्फत पहिचान हुन नसकेका व्यक्तिको शवसँग मिलान गरी पहिचान प्रक्रियामा प्रयोग गरिनेछ।
विपद्का कारण परिवारका सदस्य वा आफन्त बेपत्ता भएका परिवारजनलाई नआत्तिन र तोकिएको स्थानमा सम्पर्क गरी आवश्यक डीएनए नमुना उपलब्ध गराउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
यो अभियान बेपत्ता व्यक्तिको पहिचान गरी परिवारलाई सत्यतथ्य जानकारी उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको मानवीय प्रयासका रूपमा लिइएको छ।



