काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औं दिनमा नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरिएको छ।
नुवाकोट बिदुर १० की श्रेष्ठलाई शनिबार सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो।
श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपछि उनलाई हेलीकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेक पुर्याइएको थियो।
त्यहाँ प्रारम्भिक उपचार गरी आवश्यकता अनुसार थप उपचारका लागि उनलाई मैथिल ब्यारेकबाट काठमाडौंको छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।



