काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ।
जटिल अवस्था रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कवीर महर्जन हुन्। उनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ।
यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनएको छ। स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो।
आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।



