काठमाडौं । सुर्तीजन्य पदार्थ प्रयोगमाथिको नियन्त्रण नेपालका लागि चुनौति बनिरहेको छ। नेपालमा वर्षेनी ३७ हजार बढी मानिसको सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान जाने गरेको तथ्यांक छ।
सुर्तीजन्य पदार्थको प्रयोगमाथिको नियन्त्रणका लागि बट्टामा ९० प्रतिशत चेतनामूलक चित्र राख्नै पर्ने आदेश सर्वोच्च अदालतले दिएपछि अहिले त्यसको व्यवहारिक कार्यान्वयनसमेत अघि बढेको पाइएको छ। तर प्रयोगकर्ताहरु भने घट्ने भन्दा बढ्दो नै छ।
सर्वोच्च अदालतबाट सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर, पेटी तथा पार्सल प्याकेजिङ्ग र लेबलको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने परमादेश आएपछि सरकारलाई कार्यान्वयनतर्फ थप दबाव बढेको देखिन्छ।
सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणमा काम गर्दै आइरहेका एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सर्वोच्चको आदेशपछि सुर्तीजन्य पदार्थको प्रयोगमाथिको नियन्त्रणका लागि बट्टामा ९० प्रतिशत चेतनामूलक चित्र राख्नै पर्ने विषय कार्यान्वयनमा अघि बढिरहेको पाइएको बताए।
‘पहिलेभन्दा अहिले सुर्तीजन्य पदार्थको प्रयोगमाथिको नियन्त्रणका लागि बट्टामा ९० प्रतिशत चेतनामूलक चित्र राख्नै पर्ने व्यवस्था कार्यान्वयनमा आएको देखिन्छ, तर प्रयोगकर्ताहरु भने कम भएको देखिंदैन,’ चन्दले एक्सरे नेपालसँग भने।
वार्षिक ३७ हजार मानिसले ज्यान गुमाउँदै
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको पाइएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा ४८ लाख सुर्तीजन्य पदार्थको प्रयोगकर्ता छन् भने वार्षिक ३७ हजार ५२९ जनाको मृत्यु हुने गरेको छ। सो संख्या नेपालको कूल जनसंख्याको १९ दशमलब ४१ प्रतिशत हो।
प्रतिष्ठानको रिपोर्ट अनुसार धुम्रपान र धुँवासहितको सुर्तीजन्य पदार्थको प्रयोगकता पुरुष नै बढी रहेको देखिन्छ। ४८ लाखमध्ये २३ दशमलब १ प्रतिशत पुरुषले धुम्रपान र ३४ दशमलब ८ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको देखिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार अप्रत्यक्ष धुम्रपानबाट मात्रै वार्षिक १२ लाख मानिसको मृत्यु हुने गरेको छ। उमेरका आधारमा हेर्ने हो भने नेपालमा १५ देखि ५९ बर्ष उमेर समूहका २८ दशमलब ९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्। सो संख्या बर्षेनी ७० हजारका दरले बढ्ने गरेको तथ्यांकले देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षणले सो उमेर समूहका ४८ दशमलब ३ प्रतिशत पुरुष र ११ दशमलब ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको थियो। सो संख्या घट्नुको साटो बर्षेनी बढ्दो क्रममा रहेको परिषद्को तथ्यांकले देखाउँछ। परिषदको पछिल्लो तथ्यांक अनुसार प्रदेश ५ मा सबैभन्दा बढी ३६ दशमलब ६ प्रतिशत, बागमतीमा सबैभन्दा कम २२ दशमलब २ प्रतिशत सुर्तीजन्य पदार्थको खपत हुने दर छ।
नेपालको गरिबीको मुख्य कारण नसर्ने रोगको उपचारमा हुने खर्च रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। नेपालीले नसर्ने रोगको उपचारका लागि आफ्नो कमाइको ५६ प्रतिशतसम्म रकम खर्च गरिरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। यो तथ्यांक सन् २०१३ देखि १९ सम्म पनि उस्तै रहेको थियो।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार सन् २०२० मा मात्रै धुम्रपानको कारण नेपालको अर्थतन्त्रमा ३९ दशमलब २५ अर्ब आर्थिक क्षति भएको पाइएको छ। नेपालमा अति न्यून आर्थिक वर्गले सबैभन्दा बढी सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्कै पछिल्लो तथ्यांकलाई हेर्ने हो भने अति न्यून वर्गका ३४ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ। जुन मध्यमवर्गीय परिवारमा २७ दशमलब २ प्रतिशत मात्रै छ। औषतमा एकजना प्रयोगकर्ताले मासिक १ हजार ४९ रुपैयाँ चुरोटका लागि खर्च गर्ने गरेको पाइएको छ।
सुर्तीजन्य पदार्थको सेवनले निम्त्याएका स्वास्थ्य समस्याको उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा बर्षेनी करिब ४७ अर्ब क्षति हुने गरेको ग्लोबल टोब्याक्को इन्डेक्स २०२० ले देखाएको छ ।



