काठमाडौँ। नेपाल औषधि आयातकर्ता संघ (मीयान)ले भोटेकोसी बाढीपीडितका लागि ३ करोड भन्दा बढी मूल्यका औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।
संघले आबद्ध सदस्य संस्थाहरुमार्फत ती औषधि तथा स्वास्थ्य सामग्रीहरु संकलन गरेर औषधि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई हस्तान्तरण गरेको हो।उक्त औषधि स्वास्थ्य मन्त्री निशा मेहतालाई हस्तान्तरण गरेको अध्यक्ष पवन आचार्यले जानकारी दिए।
संघले उपलब्ध गराएको औषधिहरुमा कोलेरा भ्याक्सिन, टिटानस भ्याक्सिन, एन्टि रेविज भ्याक्सिन, पारासिटामोल इन्जेक्सन लगायत छन्। उक्त औषधिहरु बाढी प्रभावित क्षेत्र तथा स्वास्थ्य संस्थाहरूमा शीघ्र र प्रभावकारी रुपमा वितरण हुने संघले अपेक्षा गरेको जनाएको छ।
यसैगरी आगामी दिनमा पनि आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र आपूर्तिमा मन्त्रालयसँग निरन्तर समन्वय गर्न संघ तयार रहेको जनाएको छ।
संघले विगतदेखि नै जनस्वास्थ्य संरक्षण, औषधिको सहज उपलब्धता तथा विपदका समयमा सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्दै आइरहेको पनि जनाएको छ।
आजै संघले ती औषधि औषधि ब्यवस्था विभागमा जम्मा गरेको थियो।






