चितवन। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका २७२ जनाको शव चितवनमा फेला परेको छ।
आइतबारसम्म चितवनको फिस्लिङदेखि गोलाघाटसम्म त्रिशूली तथा नारायणी नदी किनारमा ती शव फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ। पहिचान भएका शव आफन्तले बुझेका छन्।
पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटको जंगलमा सुरक्षित तरिकाले गाडेर राख्न थालिएको छ।
फेला परेका २७२ शवमध्ये ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका र ८७ जनाको अझैसम्म पहिचान खुल्न सकेको छैन।
शनिबार ९६ र आइतबार १०३ गरी १९९ शव सुरक्षित रूपमा गाडिएको चितवन प्रहरीले जनाएको छ। सनाखत भएर आफन्तले बुझेका १२ शवमध्ये ११ पुरुष र एक बालिका छन्।



