काठमाडौं। विद्युत् प्रयोग वापतको बक्यौता रकम उठाउँदा लाइन नकाटी उठाउँन विद्युत् नियमन आयोगले विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।
बक्यौता रकम उठाउँन दिइएको १५ दिनको म्याद सकिन लाग्दै गर्दा विद्युत् नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउँन प्राधिकरणलाई पत्र पठाएरै निर्देशन दिएको हो।
प्राधिकरणले बक्यौता रकम उठाउँन पछिल्लोपटक १५ दिनको म्याद दिएको थियो। सो म्याद मंसिर १२ गते भोलि सकिंदैछ। प्राधिकरण स्रोतले आयोगबाट पत्र आएको बताएको छ।
अन्तिमपट्क दिएको म्याद सकिनु अघि मंगलबार आयोगले प्राधिकरणलाई पत्र पठाएको हो। तर प्राधिकरणले भने रोकिएको समयभित्र बक्यौता नबुझाएर लाइन काट्ने चेतावनी दिदैं आइरहेको छ।
प्राधिकरणले लाइन काट्ने देखेपछि नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउनुपर्ने व्यहोराको पत्र पठाएको हो।
मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतका आधारमा महसुल निर्धारण तथा असुल गर्न/गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई गत कात्तिक २५ गते निर्देशन दिएको थियो।
उद्योगीहरूले भने डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत् दिने बेला राखिएको मापदण्ड र विभिन्न समिति तथा आयोगले भनेअनुसार विद्युत् प्राधिकरणले बिल नपठाएको भन्दै बक्यौता नतिर्ने अडान लिदै आइरहेका छन्।
मन्त्री परिषदको निर्णयअनुसार कात्तिक २७ गते प्राधिकरणले काटिएका लाइन जोड्ने निर्णय गर्दै सबै बक्यौता चुक्ता गर्न सूचना जारी गरेको थियो। तर त्यसयता कुनै पनि उद्योग बक्यौता बुझाउन गएका छैनन।



