काठमाडौँ। बाढी र पहिरो प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकहरूको उद्धार तथा राहतका लागि२० वटा हेलिकप्टर 'स्ट्यान्डबाई' राखिएको छ।
सरकारले राहत तथा उद्धारका लागि बुधबार देखिनै हवाई माध्यमलाई व्यापक रूपमा परिचालन गरिरहेकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोर्डिनेशन सेन्टर (RCC) मार्फत उद्धार र राहतका लागि आज बिहान ६:३० बजेदेखि नै विशेष तयारी सुरु गरिएको छ।
थप उद्धार कार्यका लागि २० वटा हेलिकप्टरहरूलाई 'स्ट्यान्डबाई' अवस्थामा राखिएको हो। यसका अतिरिक्त, बाढीग्रस्त क्षेत्र र आसपासका इलाकाहरूमा थप १० वटा हेलिकप्टरहरू पहिले नै परिचालित भइसकेका छन्। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जमिनबाट पुग्न नसकिने स्थानहरूमा यी हेलिकप्टरमार्फत उद्धार गरिनेछ।
प्रधानमन्त्री कार्यालयको हटलाइन सेन्टर, गृह मन्त्रालय र विभिन्न सञ्चार माध्यमबाट प्राप्त हुने आपतकालीन सूचनाका आधारमा कुन क्षेत्रमा पहिले उद्धार गर्ने भन्ने प्राथमिकता निर्धारण गरिनेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को प्रत्यक्ष निर्देशन र समन्वयमा यी हेलिकोप्टरहरू सम्बन्धित स्थानमा खटाइनेछ।
सरकारले आपतकालीन उद्धार वा राहत सामग्री आवश्यक परेमा सर्वसाधारणलाई सिधै रिपोर्ट गर्न आह्वान गरेको छ। जसका लागि प्राधिकरणले अनलाइन पोर्टल https://setu.ndrrma.gov.np सञ्चालनमा ल्याएको छ। यस पोर्टलमा प्राप्त हुने विवरणका आधारमा उद्धार टोलीहरूलाई तत्काल परिचालन गर्न सहज हुने विश्वास लिइएको छ।



