काठमाडौँ। रसुवामा आएको बाढीमा परी मृत्यु भएका १७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतीको विवरण यकिन छैन।
रसुवाको टिमुरेबाट बाढीपछि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्। यस्तै सो स्थानका कैयौं ब्यक्ति सम्पर्क विहिन छन्। मानसरोवर तथा गोसाइँकुण्ड तीर्थ यात्रामा हिडेका कैयौं तीर्थ यात्रीको अवस्था समेत अज्ञात छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बाढी प्रभावित क्षेत्रमा कार्यरत तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढीका २६ जना प्रहरीको अवस्था अज्ञात रहेको जानकारी दिए।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार सम्पर्कविहीन प्रहरीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायबाट आवश्यक प्रयास भइरहेको छ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बाढीमा परेर २९१ विदेशी र ९३ नेपाली पर्यटक सम्पर्कविहीन भएका छन्।
बाढी प्रभावित क्षेत्रमा नागरिकको उद्धार, उपचार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरेका छन्। गम्भीर घाइतेको तत्काल उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ।
बाढीका कारण नदी किनार तथा प्रभावित क्षेत्रमा थुनिएका र सम्पर्कविहीन भएका नागरिकको खोजी तथा स्थान पहिचानका लागि सशस्त्र प्रहरीले ड्रोन परिचालन गरिरहेको छ। ड्रोनमार्फत बाढीबाट भएको क्षतिको अवस्थासमेत मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।
यसैबीच, रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढी तथा पहिरोमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ। टोलीले भग्नावशेष तथा जोखिमयुक्त क्षेत्रमा पुरिएका व्यक्तिको सम्भावित अवस्थाबारे खोजी तथा पहिचान गरिरहेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, उपचार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले आवश्यक जनशक्ति, स्वास्थ्य टोली, उद्धार सामग्री तथा प्रविधिको प्रयोग बढाएका छन्। जोखिमयुक्त क्षेत्रमा फसेका तथा सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखेर उद्धार कार्य जारी राखिएको जनाइएको छ।
नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभरिएको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको सूचना जारी गरिएको छ। अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन सम्बन्धित निकायले आग्रह गरेको छ।



